२०८३, भाद्र १ गते

महामन्त्री त्याग्न तयार छु: गगन थापा

मंगलवार , भाद्र ३१, २०८२

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठनका लागि आफू महामन्त्री पद त्याग्न तयार रहेको बताएका छन् । नेपाली कांग्रेस पुनर्गठन आजको अनिवार्य आवश्यकता भएको बताउँदै उनले पार्टीको सुधारका लागि आफ्नो पदीय जिम्मेवारी छोड्न तयार हुनुपर्ने स्पष्ट पारेका हुन् । महामन्त्री थापाले पार्टीको संगठन र कार्यशैलीमा परिवर्तन ल्याउनुका साथै जेन-जी आन्दोलनले उठाएका भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्नका लागि पार्टीको सदस्यता, संरचना, नेतृत्व चयन प्रक्रिया र मुद्दामा सुधार गर्न प्रस्ताव गरेका हुन् । 'पार्टीको पुनर्निर्माण आजको अनिवार्य आवश्यकता हो । हामीले अहिले जे गर्दै आएका छौं त्यसैले पार्टीको पुनर्निर्माण हुन सक्दैन। त्यसका लागि हामीलाई आफूलाई सुधार्न आवश्यक छ । पार्टीका सबै तहगत समिति र सदस्यले पनि सघाउनुपर्छ' महामन्त्री थापाले स्पष्ट पारे। त्यस्तै, गठन भइसकेको अन्तरिम सरकारलाई तोकिएको समयमा निर्वाचन सुनिश्चित गर्न सहयोग गर्नुपर्ने बताएका छन् । कांग्रेस एक जिम्मेवार लोकतान्त्रिक पार्टी भएको हुँदा निर्वाचनको मिति घोषणा गरिसकेको सरकारलाई निर्वाचन प्रकृयामा सहयोग गर्नुपर्ने बताएका हुन् । मुख्य जिम्मेवारीबाट विचलित नहुन र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गराउने कार्यलाई सरकारले प्राथमिकता दिनुपर्ने कुरा पनि जोड दिएका छन्। 'निर्वाचन गराउने जिम्मेवारी लिएर आएको सरकारलाई सहयोग गरौं,' उनले भनेका छन्, 'कही कतै यो मूल जिम्मेवारीबाट सरकार बिचलित भयो वा अलमलियो भने खवरदारी गरौं। भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्र्याकमा ल्याउने आजको मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ, यो कुरा नबिर्सौं।'

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!