नेपाली काँग्रेसले सभापति गगन थापालाई आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनअघि सार्वजनिक गरिएका अन्य प्रधानमन्त्रीका उम्मेदवारको तुलनामा गगन थापा सक्षम, सबल र उपयुक्त उम्मेदवार रहेको बताए । केन्द्रीय समितिको बैठकअघि सभापति थापाले पार्टी सभापतिको रूपमा औपचारिक रूपमा पदभार ग्रहण गरेका थिए ।
बैठकलाई सम्बोधन गर्दै सभापति थापाले समयको अभावका कारण पार्टीभित्र टिकट वितरण सोचेजस्तो गर्न नसकेको स्वीकार गरे । उनले उम्मेदवार छनोटमा भएका कमी–कमजोरीको जिम्मेवारी आफूले लिने स्पष्ट पार्दै काँग्रेस बदलिएको र बदलिएको काँग्रेसले देशलाई पनि बदल्ने दाबी गरे ।
थापाले नागरिकहरूमा सुशासनप्रति तीव्र चाहना रहेको उल्लेख गर्दै भ्रष्टाचारको छटपटीबाट देशलाई मुक्त गर्नुपर्ने आवश्यकता औंल्याए । उनले आजदेखि काँग्रेस पूर्ण शक्ति लगाएर निर्वाचनमा होमिएको घोषणा गरे । अघिल्लो निर्वाचनमा मतदाता र काँग्रेसका शुभेच्छुकहरूले ‘रुखमा मत हाल्न सकिने अवस्था बनाएर आउनुस्’ भन्ने सुझाव दिएको स्मरण गर्दै यसपटक भने सबै क्षेत्रमा रुखमा मतदान गर्न सकिने वातावरण बनाएर चुनावमा जाने बताए ।
नयाँ युगले नयाँ सोच र नयाँ नेतृत्व खोजेको उल्लेख गर्दै सभापति थापाले युवाहरूमा रहेको देश बदल्ने हुटहुटीलाई ‘नयाँ काँग्रेस’ले सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस