आम निर्वाचनको मिति नजिकिँदै जाँदा नवलपरासी (वसुप) क्षेत्र नं. १ मा नेपाली कांग्रेसले चुनावी अभियानलाई तीव्र बनाएको छ। प्रतिनिधिसभा क्षेत्र नं. १ को चुनाव प्रचार–प्रसार समितिको कार्यालय, बर्दघाटमा आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा यस क्षेत्रका उम्मेदवार विनोद चौधरीले गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्ने दाबी गरेका छन्।
“बदल्यौं कांग्रेस, बदल्छौं देश” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा महाधिवेशन प्रतिनिधि, जिल्ला नेतृत्व र ठूलो संख्यामा पार्टी कार्यकर्ताको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले कांग्रेस एक ढिक्का भएर अघि बढे जित सुनिश्चित हुने धारणा राख्दै अहिले पार्टी एकताको अत्यन्त आवश्यकता रहेको बताए।
कार्यक्रममा कांग्रेस जिल्ला सचिव कुलदीप आचार्यले कार्यकर्ता संरक्षण नै भोट संरक्षण भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरमै परिचित व्यक्तित्व विनोद चौधरीलाई आफ्नै निर्वाचन क्षेत्रमा जिताउन कठिन नहुने बताए। “सबै एकजुट भएर लाग्यौं भने परिणाम हाम्रो पक्षमा आउँछ,” उनले भने।
निवर्तमान सांसदसमेत रहेका विनोद चौधरी २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसको इतिहास क्रान्ति र आन्दोलनमार्फत आर्थिक, सामाजिक तथा राजनीतिक रूपान्तरणको साक्षी बनेको उल्लेख गर्दै अब त्यो इतिहासलाई विकासको ठोस मार्गचित्रमा रूपान्तरण गर्ने समय आएको बताए।
“मेरो मनमा कहिल्यै आग्रह–पूर्वाग्रह छैन। विकासको बाटो कांग्रेसले कोर्छ, र गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको रेखा कोर्छ,” चौधरीले भने। उनले विशेषगरी युवापुस्ता, खासगरी जेनजी पुस्ताको भावना र आन्दोलनको मर्म कांग्रेसले बुझिसकेको दाबी गर्दै सुशासन कायम गर्नु र भ्रष्टाचारको अन्त्य गर्नु पार्टीको प्रमुख एजेन्डा रहेको स्पष्ट पारे।
कार्यक्रममा सहभागी नेताहरूले नवलपरासी (वसुप) क्षेत्र नं. १ मा कांग्रेस एकताबद्ध भएर चुनावी मैदानमा उत्रिएको सन्देश दिँदै आगामी निर्वाचनमा जित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस