नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पाँचौं पुस्ताको मोबाइल दूरसञ्चार सेवा (फाइभजी) सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ। प्राधिकरणले ‘मोबाइल ब्रोडब्यान्ड विस्तार योजना : नेपालको पाँचौं पुस्तातर्फको यात्रा’ को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट राय, सुझाव तथा सल्लाह मागेको हो।
नेपालमा विद्यमान मोबाइल दूरसञ्चार सेवाको अवस्था सुधार गर्दै नवीनतम प्रविधितर्फ अघि बढ्ने उद्देश्यले मस्यौदा तयार गरिएको प्राधिकरणले जनाएको छ। दूरसञ्चार बजारको वर्तमान अवस्था, मोबाइल सेवाको बढ्दो माग, अन्तर्राष्ट्रिय अभ्यास, सेवा प्रदायकबाट प्राप्त विवरण तथा विभिन्न सरोकारवालासँगको छलफलका आधारमा योजना तयार पारिएको प्राधिकरणको भनाइ छ।
मस्यौदामा नेपालमा मोबाइल ब्रोडब्यान्ड सेवाको विकास र विस्तारसँगै आगामी दिनमा पाँचौं पुस्ताको प्रविधि भित्र्याउन आवश्यक तयारी तथा सम्भावित कार्यदिशा समेटिएको छ। प्राधिकरणका अनुसार फाइभजी सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार विस्तार, सेवा गुणस्तर, बजारको आवश्यकता तथा प्रविधिगत तयारीलाई योजनाबद्ध रूपमा अघि बढाउने विषयलाई मस्यौदामा प्राथमिकता दिइएको छ।
प्राधिकरणले मस्यौदा सम्बन्धित सरोकारवालाको जानकारी तथा सुझावका लागि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ। योजनामाथि कुनै राय, सुझाव वा सल्लाह भए १५ दिनभित्र उपलब्ध गराउन प्राधिकरणले आग्रह गरेको छ।
प्राप्त सुझावका आधारमा योजनालाई थप परिमार्जन तथा आवश्यक सुधार गर्न सकिने प्राधिकरणले जनाएको छ। राष्ट्रिय दूरसञ्चार क्षेत्रलाई नयाँ प्रविधितर्फ अघि बढाउने क्रममा पाँचौं पुस्ताको मोबाइल सेवा महत्वपूर्ण हुने भएकाले यसको पूर्वतयारी र कार्यान्वयनलाई योजनाबद्ध बनाउन मस्यौदा तयार गरिएको प्राधिकरणको भनाइ छ।
मस्यौदासम्बन्धी राय तथा सुझाव नेपाल दूरसञ्चार प्राधिकरण, कान्तिपथ, जमल, काठमाडौं मा बुझाउन सकिनेछ। त्यसैगरी pmdahal@nta.gov.np वा ppaudyal@nta.gov.np मा इमेलमार्फत पनि सुझाव पठाउन सकिने प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया दिनुहोस