२०८३, भाद्र १ गते

नाइमा एक्स्पोमा बैंकको धमाका अफर, ईभी किन्न ५ प्रतिशतदेखि साढे ५ प्रतिशतसम्म ब्याज

बिहिवार , श्रावण २८, २०८३

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ लाई लक्षित गर्दै विभिन्न बैंक तथा वित्तीय संस्थाले सवारी कर्जामा आकर्षक योजना सार्वजनिक गरेका छन्। विशेषगरी विद्युतीय सवारी (ईभी) खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै कम ब्याजदर, प्रिमियममा छुट, सेवा शुल्कमा सहुलियत र छिटो कर्जा स्वीकृति जस्ता योजना ल्याइएका छन्।

साउन २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। एक्स्पोलाई लक्षित गर्दै बैंकहरूले कर्जा प्रक्रिया समेत सहज बनाएका छन्। ग्राहकले एक्स्पोमै रहेका बैंकका स्टलबाट सवारी कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

कुन बैंकको कस्तो अफर ?

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले एक्स्पोबाट नयाँ गाडी खरिद गर्ने ग्राहकका लागि व्यक्तिगत गाडी कर्जामा विशेष योजना ल्याएको छ। बैंकका अनुसार ग्राहकले बैंकको आधार दरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा लिन सक्नेछन्। हालको आधार दरका आधारमा न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ।

नयाँ ईभी खरिद गर्ने ग्राहकका लागि बैंकले तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको अर्को योजना पनि ल्याएको छ। तीन वर्षपछि भने बैंकको आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण हुनेछ।

एक्स्पोमै रहेको बैंकको स्टलबाट कर्जा आवेदन दिन सकिनेछ। आवश्यक कागजात पूरा भएका ग्राहकलाई अधिकतम तीन दिनभित्र कर्जा स्वीकृतिपत्र उपलब्ध गराउने बैंकले जनाएको छ।

एनएमबी बैंक

एनएमबी बैंकले नयाँ ईभी खरिदका लागि आधार दरमा ०.५ प्रतिशत मात्र प्रिमियम थप गरी कर्जा उपलब्ध गराउने योजना ल्याएको छ।

बैंकले कर्जा प्रक्रियालाई सरल र छरितो बनाएको जनाएको छ। यस्तै, सेकेन्ड ह्यान्ड गाडी खरिद गर्ने ग्राहकका लागि मूल्यांकन गरिएको रकमको अधिकतम ५५ प्रतिशतसम्म, बढीमा ३५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले पनि आकर्षक ब्याजदरमा अटो लोन उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ। बैंकले ५.२८ प्रतिशत बेसरेटमा कर्जा उपलब्ध गराउने जनाएको छ।

कृषि विकास बैंक

कृषि विकास बैंकले नाइमा एक्स्पोलाई लक्षित गर्दै अटो कर्जामा ब्याज प्रिमियम तथा सेवा शुल्कमा ३३.३३ प्रतिशत छुट दिने योजना ल्याएको छ।

बैंकले ग्राहकलाई सात वर्षसम्मको अवधिका लागि छिटो र सरल प्रक्रियाबाट अटो कर्जा उपलब्ध गराउने जनाएको छ।

प्रभु बैंक

प्रभु बैंकले पनि आधार दरमा ०.५० प्रतिशत मात्र प्रिमियम थप गरी अटो लोन उपलब्ध गराउने योजना ल्याएको छ। बैंकका अनुसार यो योजना यसअघि पनि सञ्चालन हुँदै आएको थियो।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले नयाँ सवारीसाधन खरिदका लागि ५.५ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको छ। यस योजनामा ०.५ प्रतिशत प्रोसेसिङ शुल्क लाग्नेछ भने कर्जाको ब्याजदरमा वार्षिक १ प्रतिशत प्रिमियम कायम गरिने बैंकले जनाएको छ।

नेपाल बैंक

नेपाल बैंकले न्यूनतम ५ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने योजना ल्याएको छ। बैंकले सवारीसाधनको मूल्यको ६० प्रतिशतसम्म फाइनान्सिङ गर्ने जनाएको छ। कर्जाको अवधि भने पाँचदेखि सात वर्षसम्म रहनेछ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि आधार दरमा ०.५ प्रतिशत मात्र प्रिमियम थप गरी अटो कर्जाको ब्याजदर निर्धारण गर्ने भएको छ। बैंकले यसलाई न्यूनतम दरका रूपमा अघि सारेको छ।

मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले नाइमा एक्स्पोलाई लक्षित गर्दै आधार दरमा शून्य प्रतिशत प्रिमियम थप गरी अटो कर्जा उपलब्ध गराउने घोषणा गरेको छ।

हाल यो योजनाअन्तर्गत अटो लोनको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको बैंकले जनाएको छ। विशेष ब्याजदर योजना २०८३ भदौ मसान्तसम्म लागू हुनेछ। कर्जा आवेदन तथा आवश्यक कागजात पूरा गरेका ग्राहकलाई २४ घण्टाभित्रै अटो लोन उपलब्ध गराउने बैंकको भनाइ छ।

ईभी कर्जामा बैंकको प्रतिस्पर्धा बढ्दो

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको आधार दर घट्दै गएसँगै अटो कर्जाको ब्याजदर पनि तुलनात्मक रूपमा घटेको देखिन्छ। यही अवसरलाई लक्षित गर्दै नाइमा एक्स्पोमा बैंकहरूले विशेषगरी ईभी खरिदकर्तालाई आकर्षित गर्ने गरी कर्जा योजना ल्याएका छन्।

कम ब्याजदर, न्यून प्रिमियम, सेवा शुल्कमा छुट र छिटो कर्जा स्वीकृतिको सुविधाले एक्स्पोमा सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई थप सहज हुने देखिएको छ। एउटै एक्स्पोमा विभिन्न बैंकका कर्जा योजना उपलब्ध भएपछि ग्राहकले ब्याजदर, प्रिमियम, शुल्क, कर्जा अवधि र फाइनान्सिङ सीमा तुलना गरेर आफूलाई उपयुक्त योजना छनोट गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!