उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन गरेकी छन्। सिंहदरबारस्थित उद्योग र गृह मन्त्रालयबीच सञ्चालनमा ल्याइएको बिक्री कक्षबाट उपभोक्ताले दैनिक उपभोग्य खाद्यवस्तु तुलनात्मक रूपमा सुलभ मूल्यमा खरिद गर्न सक्नेछन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको वार्षिकोत्सवको अवसरमा सुरु गरिएको बिक्री कक्षमा करिब १२४ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री राखिएको छ। बजारमा खाद्यवस्तुको मूल्यमा हुने अस्वाभाविक वृद्धि नियन्त्रण गर्न तथा उपभोक्तालाई राहत दिने उद्देश्यले बिक्री कक्ष सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। सरकारी स्वामित्वको कम्पनीमार्फत नै आवश्यक खाद्य सामग्री सहज र सुलभ मूल्यमा उपलब्ध गराउने सरकारको उद्देश्य छ।
उद्घाटन गर्दै मन्त्री यादवले उपभोक्तालाई गुणस्तरीय खाद्य सामग्री सहज र सुलभ मूल्यमा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताइन्। सिंहदरबारको केन्द्रमै बिक्री कक्ष सञ्चालनमा आएपछि मन्त्रालयका कर्मचारी, सेवाग्राही तथा आसपासका उपभोक्तालाई समेत दैनिक आवश्यक खाद्य सामग्री खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ।
सरकारले आफ्नै स्वामित्वको कम्पनीमार्फत सञ्चालनमा ल्याएको बिक्री कक्षलाई बजारमा मूल्य नियन्त्रण र उपभोक्तालाई राहत दिने प्रयासका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस