राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा उल्लेख्य वित्तीय सुधार गरेको छ। बैंकको खुद नाफा ६०.६८ प्रतिशतले बढेर ४ अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। एक वर्षको अवधिमा बैंकको नाफा करिब १ अर्ब ७२ करोड रुपैयाँले बढेको हो।
बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानीमा भएको वृद्धि मुख्य कारण देखिएको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी १७.८५ प्रतिशतले बढेर ११ अर्ब ९६ करोड ६१ लाख ५३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १० अर्ब १५ करोड ३९ लाख ७८ हजार रुपैयाँ रहेको थियो।
त्यस्तै, बैंकको इम्पेयरमेन्ट चार्जमा उल्लेख्य कमी आएको छ। अघिल्लो वर्ष २ अर्ब २३ करोड ४४ लाख २१ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष घटेर ८४ करोड ७९ लाख ६५ हजार रुपैयाँ मा सीमित भएको छ। इम्पेयरमेन्ट चार्ज घट्नुले पनि बैंकको नाफा वृद्धिमा सकारात्मक प्रभाव पारेको देखिन्छ।
असार मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी (EPS) २९ रुपैयाँ १४ पैसा पुगेको छ। बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ४० अर्ब ४५ करोड रुपैयाँ सञ्चित रहेको छ।
समग्रमा खुद ब्याज आम्दानीमा वृद्धि, इम्पेयरमेन्ट चार्जमा आएको कमी र सञ्चालनमा सुधारसँगै राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा नाफामा उल्लेख्य छलाङ मारेको देखिन्छ।
प्रतिक्रिया दिनुहोस