२०८३, भाद्र १ गते

एनआरएन डेभलपमेन्ट फन्डलाई आईपीओ निष्कासनको बाटो खुला

शुक्रवार , श्रावण २९, २०८३

गैरआवासीय नेपाली (एनआरएन) ले स्थापना गरेको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने कानुनी बाटो खुलेको छ। नेपाल धितोपत्र बोर्डले नियमावली संशोधन गर्दै फन्डले गैरआवासीय नेपालीका लागि ८५ प्रतिशतसम्म शेयर जारी गर्न सक्ने व्यवस्था गरेपछि आईपीओ निष्कासनको प्रक्रिया अघि बढ्ने भएको हो।

फन्डले पहिलो चरणमा १० अर्ब रुपैयाँ पूँजी जुटाउने तयारी गरेको छ। त्यसमध्ये ८ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर गैरआवासीय नेपालीलाई आईपीओमार्फत बिक्री गर्ने योजना छ। बाँकी शेयरमध्ये संस्थापकको १० प्रतिशत र नेपाल सरकारको ५ प्रतिशत हिस्सा रहनेछ।

फन्डका अनुसार आईपीओमार्फत विश्वका १७७ देशमा रहेका करिब ७ लाख गैरआवासीय नेपालीलाई नेपालको पूँजी बजारसँग जोड्ने लक्ष्य राखिएको छ। प्रस्तावित व्यवस्थाअनुसार न्यूनतम १ लाख रुपैयाँ लगानी गर्नुपर्नेछ।

आईपीओबाट जुटेको रकम ठूला पूर्वाधार तथा उत्पादनमूलक परियोजनामा लगानी गरिने फन्डले जनाएको छ। आईपीओपछि डायस्पोरा बन्डमार्फत थप पूँजी भित्र्याउने र आगामी पाँच वर्षमा गैरआवासीय नेपालीबाट करिब ५० अर्ब रुपैयाँ नेपालको धितोपत्र बजारमा ल्याउने लक्ष्य पनि फन्डले राखेको छ।

विदेशमा रहेका नेपालीलाई विदेशमै बसेर बैंक, डिम्याट तथा टीएमएस खाता खोल्न र नेपालको धितोपत्र कारोबारमा सहभागी हुन सहज बनाउने उद्देश्यले ‘डायस्पोरा इन्भेस्टमेन्ट म्यानेजमेन्ट सिस्टम’ समेत विकास भइरहेको फन्डले जनाएको छ।

करिब सात वर्षदेखिको तयारीपछि आईपीओ निष्कासनको कानुनी बाटो खुलेसँगै विदेशमा रहेका नेपालीको पूँजीलाई नेपालको पूर्वाधार तथा ठूला परियोजनामा परिचालन गर्ने योजनाले गति लिने अपेक्षा गरिएको छ। यसले गैरआवासीय नेपालीको लगानीलाई संस्थागत रूपमा नेपाल भित्र्याउनुका साथै नेपालको पूँजी बजारको दायरा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!