२०८३, भाद्र १ गते

एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटल परामर्शदाता नियुक्त

शुक्रवार , श्रावण २९, २०८३

कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी थालेको छ । कम्पनीले आफ्नो पूँजी संरचना सुदृढीकरण, वित्तीय तथा व्यावसायिक अवस्थाको अध्ययन र पूँजी बजारमा प्रवेशको तयारीका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता नियुक्त गरेको हो ।

शुक्रबार श्रावण २९ गते चितवनको भरतपुर–४ स्थित एग्री केयर नेपालको कार्यालयमा आयोजित कार्यक्रममा दुवै कम्पनीबीच संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा एग्री केयर नेपालका अध्यक्ष रबिन अधिकारी र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नेपाल लाइफ क्यापिटलले एग्री केयर नेपाललाई सम्भावित आईपीओ निष्काशनका लागि आवश्यक परामर्श, पूँजी पुनर्संरचना, कम्पनीको वित्तीय तथा कानुनी अवस्थाको अध्ययन र मूल्याङ्कन, पूँजी संरचना तथा सम्भावित आईपीओको आकार निर्धारण लगायतका सेवा प्रदान गर्नेछ । त्यस्तै, कम्पनीको आवश्यक संरचनागत सुधार तथा नियामकीय प्रक्रियामा आवश्यक समन्वयसमेत नेपाल लाइफ क्यापिटलले गर्नेछ ।

दुई दशकदेखि कृषि क्षेत्रमा सक्रिय

सन् २००४ मा स्थापना भएको एग्री केयर नेपालले सुरुवातमा बिरुवाको पोषण, सूक्ष्म पोषक तत्व तथा गुणस्तरीय कृषि सामग्रीबाट आफ्नो व्यवसाय अघि बढाएको थियो । सन् २००९ मा जैविक प्रविधि इकाइ सञ्चालनमा ल्याएपछि कम्पनीले जैविक विषादी तथा लाभदायी सूक्ष्मजीवमा आधारित उत्पादनतर्फ समेत विस्तार गरेको हो । हाल कम्पनीले बाली संरक्षण, बिरुवाको पोषण, मल, माटो सुधारक तथा जैविक कृषि सामग्रीमार्फत किसानलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

कम्पनीले विज्ञानमा आधारित कृषि समाधानमार्फत किसानको उत्पादकत्व तथा बालीको गुणस्तर वृद्धि, माटोको दीर्घकालीन स्वास्थ्य र दिगो कृषि अभ्यासलाई प्राथमिकता दिँदै आएको जनाएको छ । किसानलाई आवश्यक जानकारी तथा प्राविधिक सहयोग उपलब्ध गराउन कम्पनीले विभिन्न तालिम तथा किसान कल सेन्टर जस्ता कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

आईपीओको तयारीमा नेपाल लाइफ क्यापिटलको साथ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापन, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर दर्ता तथा निष्काशन र बिक्री प्रबन्धलगायतका मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

एग्री केयर नेपालले नेपाल लाइफ क्यापिटलसँगको सहकार्यपछि कम्पनीको संस्थागत विकास तथा पूँजी संरचनालाई थप व्यवस्थित गर्दै भविष्यमा सर्वसाधारणलाई समेत कम्पनीको विकास यात्रामा सहभागी गराउने लक्ष्य लिएको जनाएको छ ।

सम्झौता भएसँगै तत्कालै आईपीओ निष्काशन हुने नभई कम्पनीको वित्तीय, कानुनी तथा संरचनागत अवस्थाको अध्ययन गरी आवश्यक सुधार र नियामकीय प्रक्रिया पूरा गरेपछि आईपीओ निष्काशनको प्रक्रिया अघि बढाइनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!