अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा ठूलो लगानी गरेका २० बहुराष्ट्रिय कम्पनीलाई थप लगानी विस्तार गर्न आग्रह गर्दै सरकार लगानीकर्ताको साथमा उभिने बताएका छन्।
नेपालमा लगानी गरी ठूलो कारोबार र कर योगदान गरिरहेका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा भएका उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न, प्रविधि भित्र्याउन र थप रोजगारी सिर्जना गर्न आग्रह गरेका हुन्।
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई सरकारको राजस्वको स्रोतका रूपमा मात्र नभई राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्ने स्पष्ट धारणा राखेका छन्। उनले सरकारको प्राथमिकता केवल कर संकलन बढाउनु नभई उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउनु रहेको बताए।
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नेपालको आर्थिक सफलतासँग प्रत्यक्ष जोडिएको बताए। उनका अनुसार उद्योगले नाफा कमाउँछ, नाफा पुनःलगानी हुन्छ, पुनःलगानीले उत्पादन बढाउँछ र उत्पादन विस्तारसँगै रोजगारी सिर्जना हुन्छ। रोजगारी र आम्दानी बढेपछि बजार विस्तार हुने र त्यसबाट अन्ततः राज्यको राजस्वसमेत बढ्ने उनको भनाइ छ।
त्यसैले सरकार र निजी क्षेत्रबीचको सम्बन्धलाई एकअर्काको हितविपरीत नभई दुवैको सफलता एकअर्कासँग जोडिएको साझेदारीका रूपमा अघि बढाउनुपर्ने उनले बताए।
अर्थमन्त्री वाग्लेले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन्। लगानीकर्ताले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियम स्थिर रहेको, कर प्रणाली पूर्वानुमेय रहेको र सरकार साझेदारका रूपमा उभिएको महसुस गर्न सके मात्रै ठूलो लगानी आकर्षित गर्न सकिने उनले बताए।
उनले भनेका छन्, 'त्यो विश्वास निर्माण नगरी ठूलो लगानी आउँदैन। त्यो विश्वास निर्माण नगरी उद्योग विस्तार हुँदैन। त्यो विश्वास निर्माण नगरी आर्थिक रूपान्तरण सम्भव हुँदैन।'
अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग नेपालमा व्यवसाय विस्तारका क्रममा देखिएका वास्तविक समस्या र तत्काल गर्नुपर्ने सुधारबारे स्पष्ट धारणा मागेका छन्। उनले सरकारले सुरु गरेका सुधारहरू व्यवहारमा कत्तिको प्रभावकारी देखिएका छन् र व्यवसाय विस्तारमा अझै मुख्य अवरोध कहाँ छन् भन्ने विषयमा कम्पनीका प्रतिनिधिसँग सुझाव मागे।
विशेषगरी कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात, कानुनी व्यवस्था तथा सरकारी प्रक्रियामध्ये तत्काल सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्न उनले आग्रह गरे। त्यस्तै, सरकारले आगामी छ महिनाभित्र गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण पाँच निर्णय के हुन सक्छन् भन्नेबारे समेत सुझाव दिन कम्पनीका प्रतिनिधिलाई आग्रह गरिएको छ।
अर्थमन्त्री वाग्लेले छलफललाई सुझाव संकलनमा मात्र सीमित नराख्ने बताएका छन्। उनले बैठकमा उठेका विषयको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गरिने र अर्थ मन्त्रालयले ‘रेस्पोन्स डेस्क’मार्फत त्यसको निरन्तर अनुगमन गर्ने बताए।
यो संवाद एकपटकको कार्यक्रम नभई समस्या समाधान नभएसम्म निरन्तर चल्ने उनको भनाइ छ।
अर्थमन्त्री वाग्लेले इमानदारीपूर्वक कर तिर्ने व्यवसायी तथा कम्पनीलाई राज्यले उच्च सम्मान दिनुपर्ने बताए। उनका अनुसार सरकार करदातालाई केवल राजस्वको स्रोतका रूपमा नभई राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्न चाहन्छ।
सरकारले यस्तो वातावरण निर्माण गर्न खोजेको उनको भनाइ छ, जहाँ उद्योगी सफल हुँदा समाजले त्यसलाई सकारात्मक रूपमा हेर्ने, लगानीकर्ता सुरक्षित महसुस गर्ने, करदाता सम्मानित हुने र युवालाई उद्यममा प्रवेश गर्ने प्रेरणा मिल्नेछ।
अर्थमन्त्री वाग्लेले नेपाललाई लगानीमैत्री, व्यवसायमैत्री र उत्पादनमुखी अर्थतन्त्र बनाउने अभियानमा सरकार र निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताए। उनले बहुराष्ट्रिय कम्पनीलाई नेपालमा भएका उद्योग विस्तार गर्न, नयाँ क्षेत्रमा लगानी गर्न, आधुनिक प्रविधि भित्र्याउन र थप रोजगारी सिर्जना गर्न आह्वान गर्दै आगामी दशकलाई ठूलो लगानी, ठूलो उत्पादन, ठूलो रोजगारी र ठूलो आत्मविश्वासको दशक बनाउनुपर्ने धारणा राखे।
नेपालमा ठूलो लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीसँगको यो छलफललाई सरकारले बजेट कार्यान्वयनसँगै लगानीको वातावरण सुधार, निजी क्षेत्रका समस्या पहिचान र विदेशी लगानी विस्तारका लागि प्रत्यक्ष संवादको रूपमा अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस