सामसङ नेपालले नयाँ पुस्ताका प्रिमियम स्मार्टफोन तथा स्मार्टवाच सार्वजनिक गरेको छ। कम्पनीले आज ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८, ग्यालेक्सी जेड फ्लिप ८, ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ सार्वजनिक गर्दै नेपाली उपभोक्ताका लागि नयाँ ग्यालेक्सी एआई अनुभव र स्मार्ट ‘ओनरशिप’ इकोसिस्टम प्रस्तुत गरेको हो।
कम्पनीका अनुसार ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा र ग्यालेक्सी जेड फोल्ड ८ का ठूला डिस्प्लेले एआई प्रयोगका लागि थप फराकिलो कार्यक्षेत्र उपलब्ध गराउँछन्। यसले प्रयोगकर्तालाई पटक–पटक एप परिवर्तन नगरी सामग्री समीक्षा, तुलना, सिर्जना तथा आवश्यक काम गर्न सहज बनाउने कम्पनीको दाबी छ।
त्यस्तै, ग्यालेक्सी जेड फ्लिप ८ ले कम्प्याक्ट डिजाइनमै छिटो एआई अन्तरक्रिया र सिर्जनात्मक अभिव्यक्तिको अनुभव दिने बताइएको छ। नयाँ ग्यालेक्सी वाच सिरिजमार्फत कम्पनीले कनेक्टेड स्वास्थ्य तथा वेलनेस अनुभवलाई समेत थप विस्तार गरेको छ।
मूल्य मात्र होइन, सम्पूर्ण ‘ओनरशिप’ यात्रामा जोड
नयाँ उत्पादनको लन्चसँगै सामसङ नेपालले प्रिमियम प्रविधिको पहुँचलाई मूल्यमा मात्र सीमित नगरी सुलभता, पहुँचयोग्यता र दिगोपनालाई समेटिएको ओनरशिप इकोसिस्टम निर्माणमा जोड दिएको जनाएको छ।
ग्यालेक्सी जेड फोल्ड ८ सिरिज खरिद गर्ने ग्राहकका लागि एचएफएलमार्फत ४० प्रतिशत डाउन पेमेन्टसहित २४ महिनाको ईएमआई सुविधा उपलब्ध गराइनेछ। योग्य उच्चस्तरीय ग्राहकका लागि ईएमआई अवधि ३६ महिनासम्म विस्तार गर्दै डाउन पेमेन्टलाई २० प्रतिशतसम्म घटाउने लक्ष्यसमेत राखिएको कम्पनीले जनाएको छ।
यसका साथै ट्रेड–इन बोनस, कनेक्टिभिटी सुविधा तथा योजनामा रहेको रेमिट्यान्ससँग जोडिएको क्यासब्याकमार्फत ग्राहकलाई उत्पादन खरिद तथा प्रयोगको सम्पूर्ण यात्रामा थप मूल्य प्रदान गर्ने सामसङको योजना छ।
सामसङले नयाँ उत्पादन खरिद गर्ने ग्राहकको पुरानो उपकरणको मूल्य संरक्षणमा समेत ध्यान दिएको जनाएको छ। ट्रेड–इनका लागि योग्य उपकरणलाई Apkudo तथा स्थानीय साझेदारहरूको सहकार्यमा परीक्षण, मूल्याङ्कन र प्रशोधन गरिनेछ।
कम्पनीका अनुसार उपयुक्त अवस्थामा पुराना उपकरणलाई मर्मत गरी पुनः प्रयोगमा ल्याउन सकिनेछ। यसले ग्राहकलाई पुरानो उपकरणको उचित मूल्य प्राप्त गर्न सहयोग गर्नुका साथै उपकरणको आयु बढाउने, विश्वसनीय पुनःप्रयोग बजार विकास गर्ने र ई–वेस्ट न्यूनीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सामसङ नेपालका म्यानेजिङ डाइरेक्टर चाङ्ग युके जुङ्गले नयाँ ग्यालेक्सी जेड सिरिजमार्फत नेपालमा प्रिमियम प्रविधि भित्र्याउनुका साथै ग्राहकको सम्पूर्ण स्वामित्व यात्रालाई स्मार्ट बनाउने उद्देश्य रहेको बताए।
उनका अनुसार अफोर्डेबिलिटीलाई केवल छुटका रूपमा नभई विभिन्न सुविधा र लाभको एकीकृत संयोजनका रूपमा अघि बढाइएको छ। त्यस्तै, ग्राहकले योग्यता जाँचदेखि खरिद र उत्पादन प्राप्तिसम्मको प्रक्रिया सहज रूपमा पूरा गर्न सक्ने गरी पहुँचयोग्य व्यवस्था गर्ने र पहिलो ग्राहकपछि पनि उत्पादनको मूल्य तथा उपयोगिता कायम राख्ने दिशामा काम भइरहेको उनले बताए।
प्रि–अर्डरमा ६८ हजार रुपैयाँसम्मका लाभ
सामसङ नेपालले नयाँ ग्यालेक्सी जेड सिरिजका लागि भीआईपी र सामान्य प्रि–अर्डर प्याकेज पनि सार्वजनिक गरेको छ।
भीआईपी प्रि–अर्डर प्याकेजअन्तर्गत ६८ हजार रुपैयाँसम्मका लाभ उपलब्ध हुने कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस