२०८३, भाद्र १० गते

images

आर्थिक ऐनको कर छुट सुविधा लिने फर्मको संख्या २ हजार ९०६ पुग्यो

मंगलवार , भाद्र ९, २०८३

सरकारले जारी गरेको आर्थिक ऐन, २०८३ ले दिएको कर छुट सुविधाको लाभ लिने फर्म तथा करदाताको संख्या जिल्लामा २ हजार ९०६ पुगेको छ। लामो समयदेखि बाँकी रहेको कर तिर्न नसकेका करदातालाई लक्षित गर्दै सरकारले एकपटकका लागि यस्तो सुविधा उपलब्ध गराएको हो।

ऐनअनुसार आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कतर्फको बक्यौता रकमसँगै थप एक प्रतिशत कर बुझाएमा बाँकी ब्याज, जरिवाना तथा विलम्ब शुल्क मिनाहा हुने व्यवस्था गरिएको छ। सुविधा लागू भएसँगै बक्यौता कर भुक्तानी गर्ने क्रम बढेको र राजस्व संकलनमा समेत वृद्धि भएको आन्तरिक राजस्व कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए।

उनका अनुसार लामो समयदेखि कर बक्यौता रहेर व्यवसाय सञ्चालन गर्न कठिनाइ भोगिरहेका करदाताका लागि यो एकपटकको अवसर हो। जुनसुकै प्रकारको कर बक्यौता भए पनि ऐनले तोकेको प्रक्रियाअनुसार छुट सुविधा लिन सकिने उनले बताए। यस्तो अवसर पुनः नआउन सक्ने भएकाले करदातालाई सुविधा उपयोग गर्न उनले आग्रह गरेका छन्।

तथ्यांकअनुसार आयकरतर्फ प्यान नम्बर नलिई कारोबार गर्ने सात फर्मले छुट सुविधा लिएका छन् भने प्यान नम्बर लिएर हालसम्म कारोबार नगरेका २६६ फर्मले सुविधा लिएका छन्। आयकरतर्फ ब्याज तथा जरिवाना छुटको सुविधा कार्यालयमार्फत ३२६ फर्म र अनलाइन प्रणालीमार्फत १ हजार ९६४ फर्मले लिएका छन्।

त्यस्तै, मूल्य अभिवृद्धि करतर्फ कर संकलन नगरेका र विवरणसमेत दाखिला नगरेका ४४ तथा कर संकलन गरे पनि विवरण नबुझाएका ३८ फर्मले सुविधा लिएका छन्। अन्तःशुल्कतर्फ कारोबार तथा विवरणसम्बन्धी बक्यौता रहेका छ फर्म र इजाजत नवीकरण नगरेका २१६ फर्मले छुट सुविधा लिएका छन्।

आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कतर्फ विवरण पेश गरी कर नबुझाएका २३, कर निर्धारणबाट सिर्जित बक्यौता दाखिला गर्ने ११ तथा विचाराधीन मुद्दा फिर्ता लिएर कर दाखिला गर्ने दुई फर्मले पनि छुट सुविधा लिएका छन्।

जिल्लामा हाल आयकरतर्फ ७४ हजार ३६६ करदाता छन्। तीमध्ये ११ हजार ३४५ मूल्य अभिवृद्धि कर र ४ हजार ९६१ अन्तःशुल्कमा दर्ता भएका छन्। कार्यालयका अनुसार मूल्य अभिवृद्धि करतर्फ सबै महिनाको विवरण नबुझाउने करदाताको संख्या करदाताको कुल संख्याको करिब ५५ प्रतिशत छ। आयकरतर्फ आर्थिक वर्ष २०८१/८२ सम्म ३३ प्रतिशत करदाताले विवरण बुझाउन बाँकी रहेको देखिएको छ।

आर्थिक ऐन २०८३ ले दिएको छुट सुविधाअन्तर्गत जेठ १५ देखि भदौ ५ गतेसम्म आयकरतर्फ २ हजार ५६३ करदाताले विवरण बुझाएर कर दाखिला गरिसकेका छन्। त्यस्तै, मूल्य अभिवृद्धि करतर्फ ८२ करदाताले विवरण बुझाई करसमेत दाखिला गरेका छन् भने अन्तःशुल्कतर्फ २२२ करदाताले ऐनको दफा ४३ (१) र (२) अनुसार अन्तःशुल्क दस्तुर बुझाएर विवरण दाखिला गरेका छन्।

कर छुट सुविधाको प्रभाव राजस्व संकलनमा समेत देखिएको छ। गत आर्थिक वर्ष २०८२/८३ को साउनमा १ अर्ब ५३ करोड ३९ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्ष २०८३/८४ को साउनमा १ अर्ब ८१ करोड ५५ लाख ५८ हजार रुपैयाँ संकलन भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा २८ करोड १६ लाख ४८ हजार रुपैयाँ बढी हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!