सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको २ अर्ब ५७ करोड रुपैयाँको तुलनामा ३८.०१ प्रतिशत बढी हो।
बैंकको नाफा वृद्धिसँगै मुख्य आम्दानी र लाभांश क्षमता पनि सुधार भएको वित्तीय विवरणले देखाएको छ। गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ६ अर्ब ३५ करोड रुपैयाँ थियो।
त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी पनि बढेको छ। बैंकले समीक्षा अवधिमा यस शीर्षकबाट १ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको १ अर्ब १९ करोड रुपैयाँभन्दा बढी हो।
बैंकको सञ्चालन नाफा पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्षको ३ अर्ब ५७ करोड रुपैयाँ रहेको सञ्चालन नाफा गत आर्थिक वर्षमा बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।
वितरणयोग्य नाफा २ अर्ब ८३ करोड
बैंकको लाभांश वितरण गर्न सक्ने क्षमतामा समेत सुधार देखिएको छ। नियमनकारी समायोजनपछि गत असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २ अर्ब १० करोड रुपैयाँ थियो। बैंकको चुक्ता पुँजीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा २० रुपैयाँ ८५ पैसा रहेको छ। यसले बैंकको लाभांश क्षमतामा अघिल्लो वर्षको तुलनामा सुधार भएको संकेत गर्छ।
निक्षेप र कर्जा दुवै विस्तार
समीक्षा अवधिमा बैंकको व्यावसायिक आकार पनि विस्तार भएको छ। ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरसहित बैंकको चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ रहेको छ। बैंकको कुल निक्षेप २ खर्ब २३ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, ग्राहकलाई प्रवाह गरिएको कुल कर्जा १ खर्ब ७६ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्तिको आकारसमेत बढेर २ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ।
खराब कर्जा घट्यो
बैंकको खराब कर्जा अनुपातमा समेत सुधार आएको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तमा ३.०१ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर गत आर्थिक वर्षको अन्त्यसम्म २.८७ प्रतिशतमा झरेको छ। त्यस्तै, खुद निष्क्रिय कर्जा अनुपात १.०२ प्रतिशतमा रहेको छ। खराब कर्जा अनुपातमा आएको गिरावटले बैंकको कर्जा जोखिम व्यवस्थापनमा सुधार भएको देखाउँछ।
यद्यपि, बैंकिङ क्षेत्रमा ब्याजदर घट्दो क्रममा रहँदा ब्याजदर अन्तर ३.३९ प्रतिशतमा सीमित हुनु, व्यावसायिक गतिविधिमा देखिएको सुस्तता तथा डिजिटल प्रविधिमा भइरहेको रूपान्तरण बैंकका लागि आगामी दिनका चुनौतीका रूपमा देखिएका छन्।
बैंकले डिजिटल सेवा विस्तार, निक्षेप संरचनामा सुधार तथा कर्जा असुलीलाई प्रभावकारी बनाउँदै दिगो वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ।

