२०८३, भाद्र १ गते

माग बढेपछि अण्डाको समर्थन मूल्य बढ्यो, किसान अझै लागतभन्दा तल

मंगलवार , श्रावण २६, २०८३

बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी विभिन्न आकारका अण्डाको समर्थन मूल्य वृद्धि गरेको हो।

संघका अनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ र मिडियम अण्डा ५०० रुपैयाँ कायम गरिएको छ। सानो अण्डाको समर्थन मूल्य भने सात क्रेट अर्थात् एक पेटीको ३ हजार रुपैयाँ तोकिएको छ। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको संक्रमणका कारण कुखुरा मर्नुका साथै उत्पादन घटेपछि बजारमा अण्डाको आपूर्ति कम भएको छ। अर्कोतर्फ माग बढेकाले पछिल्लो समय अण्डाको मूल्य उकालो लागेको उनले बताए।

‘फार्महरूले दिएको मूल्यका आधारमा समर्थन मूल्य निर्धारण गरिएको हो,’ पोखरेलले भने, ‘मूल्य बढे पनि किसानले अझै लागतअनुसारको मूल्य पाउन सकेका छैनन्।’

लागतभन्दा अझै कम मूल्य

अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने संघको तथ्यांक छ। यही लागतका आधारमा हिसाब गर्दा ३० वटा अण्डाको एक क्रेटको लागत ५७३ रुपैयाँ ६० पैसा पर्छ। तर संघले निर्धारण गरेको एक्सएल अण्डाको समर्थन मूल्यसमेत प्रतिक्रेट ५६० रुपैयाँ मात्रै छ। अर्थात् उत्पादन लागतको तुलनामा समर्थन मूल्य प्रतिक्रेट १३ रुपैयाँ ६० पैसा कम छ।

यसले बजारमा अण्डाको मूल्य बढेको अवस्थामा पनि किसानले उत्पादन लागत नै पूर्ण रूपमा उठाउन नसकेको देखाउँछ।

बर्डफ्लुले घटायो उत्पादन

कुखुरापालन व्यवसाय पछिल्ला वर्षमा बर्डफ्लु तथा अन्य रोगको जोखिमसँगै उत्पादन लागत वृद्धिको दबाबमा रहेको व्यवसायी बताउँछन्। बर्डफ्लुका कारण ठूलो संख्यामा कुखुरा मर्नुका साथै अण्डा उत्पादन घटेको संघको भनाइ छ। उत्पादन घटेपछि बजारको माग धान्न कठिन हुँदै जाँदा अण्डाको मूल्यमा समेत दबाब परेको हो।

पोखरेलका अनुसार अण्डाको उचित मूल्य नपाउँदा किसानले विगत केही वर्षदेखि नै ठूलो आर्थिक क्षति बेहोर्दै आएका छन्। लागतअनुसार मूल्य नपाउने र रोगका कारण कुखुरा गुमाउनुपर्ने अवस्थाले धेरै किसानलाई व्यवसायबाट बाहिरिन बाध्य बनाएको उनको भनाइ छ।

ऋणको दबाबमा किसान

अण्डा उत्पादन घट्नु, कुखुरामा रोगको संक्रमण देखिनु र उत्पादनको उचित मूल्य नपाइनुले किसानको वित्तीय दबाबसमेत बढाएको व्यवसायी बताउँछन्। ठूलो लगानी गरेर कुखुरापालन गर्ने किसानले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गर्दै आएका हुन्छन्। तर उत्पादनमा क्षति र बजार मूल्यमा अस्थिरता हुँदा ऋणको साँवा–ब्याज तिर्नसमेत कठिन हुने अवस्था सिर्जना भएको व्यवसायीको भनाइ छ।

अहिले माग बढेका कारण अण्डाको मूल्यमा सुधार आए पनि किसानको वास्तविक समस्या उत्पादन लागत र बिक्री मूल्यबीचको अन्तर कायम रहनु रहेको देखिन्छ। उत्पादन लागतभन्दा कम समर्थन मूल्य कायम रहँदा अण्डाको मूल्य बढेको लाभ किसानसम्म कति पुग्छ भन्ने प्रश्नसमेत उठेको छ।

संघका अनुसार बर्डफ्लुबाट भएको क्षति, उत्पादनमा आएको कमी र किसानको बढ्दो लागतलाई ध्यानमा राख्दै अण्डाको मूल्य तथा बजार व्यवस्थापनलाई थप व्यवस्थित गर्न आवश्यक छ।
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!